आज थारु समुदायको नयाँ वर्ष : माघी मनाउँदै - DoroNepal

Breaking

Wednesday, January 15, 2020

आज थारु समुदायको नयाँ वर्ष : माघी मनाउँदै

आज थारु समुदायको नयाँ वर्ष : माघी मनाउँदै
दाङ । थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन् । थारु समुदायले स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । 
सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । यद्यपि पहिछल्लो समुदाय काठमाडौंका पनि यो पर्व मनाउने गरिएको छ ।  पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको भुवन चौधरीले जानकारी दिए ।
“आफूभन्दा ठूलासँग आशिर्वाद लिई सानालाई आशिर्वाद दिने गरिन्छ, बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारु समुदायमा छ,” उनले भने । 
वि.सं. २०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो । यसैले यस पर्वलाई उन्मुक्तिको पर्व भनेर थारु समुदायमा चिनिन्छ ।
माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकामा गएर आशिर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।
यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दिनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता पनि यस समुदायमा छ ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा पनि छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत समेत छ ।
गाउँका मुखिया, महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि अगुवा छनोट गर्छन् । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ ।
नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको प्रारम्भ हुनु अघिदेखि नै थारु समुदायमा माघ १ गते अगुवा चुन्ने प्रचलन थियो । थारु समुदायले वर्षभरी गरेका कामको समीक्षा आजैका दिन गर्छन् ।
विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइँका लागि माघीका समयमा साइत हेर्न नपर्ने विश्वास पनि थारु समुदायमा छ ।
माघेसंक्रान्तिको अवसरमा मेला
माघे सक्रान्तिको अबसर दाङका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । आज थारु समुदायको भूमिको रुपमा परिचित दाङमा माघे संक्रान्तिको अबसरमा विभिन्न स्थानमा मेला लाग्ने गर्छ । खास गरि घोराही उपमहानगरपालिका १३ स्थित बाह्रकुने दह, सतबरिया स्थित रिहार लगाएतका स्थानमा भब्य मेला लाग्ने गर्छ ।
जिल्लाको पर्यटकीय र धार्मिक क्षेत्रको विकास गर्ने उद्देश्यका साथ माघे संक्रान्तिको अबसरमा बाह्रकुने दहमा बृहत मेलाको समेत आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गिरबहादुर घर्तीले जानकारी दिए ।
प्रत्येक वर्ष जस्तै यसवर्ष पनि बाह्रकुनेमा विविध सांस्कृतिक कार्यक्रम, भक्तजनका लागि ढुङ्गाको व्यवस्था, बालवालिकालाई बाल उद्यान, काठको चर्खे पिङको व्यवस्थापन गरिएको घर्तीले जानकारी गराए । मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनलाई लाइनको व्यवस्थापन समेत मिलाइएको छ । मेलाको सुरक्षाका लागी झण्डै एक सय प्रहरी र त्यतिकै स्वयम् सेवक परिचालित छन् ।
यसवर्ष बाह्रकुने क्षेत्रमा झण्डै ४० हजार तिर्थालु आउने अनुमान गरिएको छ । उनीहरुको सुरक्षाका लागी प्रहरी परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
-विवेक खड्का

No comments:

Post a Comment