अंग्रेजी नयाँ वर्षमा वर्षा र हिमपातको सम्भावना ! - DoroNepal

Breaking

Monday, December 30, 2019

अंग्रेजी नयाँ वर्षमा वर्षा र हिमपातको सम्भावना !

अंग्रेजी नयाँ वर्षमा वर्षा र हिमपातको सम्भावना !काठमाडौं । अंग्रेजी नयाँ वर्ष १ जनवरी २०२० अर्थात् आगामी बुधबार देशमा मौसमले त्यति धेरै साथ नदिने संकेत पाइएको छ । यसको अघिल्लो दिन भोलि मंगलबारदेखि नै मौसममा गडबड आउने संकेत जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । 
सो महाशाखाका अनुसार भोलि मंगलबार दिउँसो र राति देशैभरी मौसम बदली रहनेछ ।
महाशाखाले बुधबार  दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रही  पश्चिमी र पूर्वी पहाडी भूभागमा हल्का बर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । 
उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुने सम्भावना औंल्याइएको छ ।
बुधबार राति पनि  देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुने जनाइएको छ ।
महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने विकसित भएको छैन । मौसमविद् गंगा नगरकोटीले बाह्रखरीलाई जानकारी गराएअनुसार आज तराइका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अन्य स्थानमा चाहिँ मौसम सामान्यतया सफा रहेको छ । तराईका भूभाग र पहाडी उपत्यकाहरूमा हुस्सु र कुहिरो विकसित भएको हुनाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न आगामी २४ घण्टा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 
राजधानीमा तापक्रम बढ्यो
मौसमविद् नगरकोटीका अनुसार आज बिहान ६ः३० बजे काठमाडौंको तापक्रम १ दशमलब ८ डिग्री सेल्सियस पुगेको छ ।  आइतबार १ डिग्री सेल्सियस थियो भने शनिबार शून्य दलशमलब ६ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । 
आज बिहान १ दशमलब ८ डिग्री सेल्सियस तापक्रम भएकोमा बिहान ८ः३० बजे सम्ममा तापक्रम ४ डिग्री सेल्सियस पुगेको मौसमविद् नगरकोटीले बताइन् ।

No comments:

Post a Comment