नेकपाका सांसदको आक्रोश– हेटौंडालाई प्रदेशको राजधानी मान्दैनौं - DoroNepal

Breaking

Monday, December 30, 2019

नेकपाका सांसदको आक्रोश– हेटौंडालाई प्रदेशको राजधानी मान्दैनौं

नेकपाका सांसदको आक्रोश– हेटौंडालाई प्रदेशको राजधानी मान्दैनौं काठमाडौं । पार्टी सचिवालयले प्रदेश नम्बर ३ को राजधानी हेटौंडा तोक्न निर्देशन दिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकै प्रदेशसभा सदस्य क्रूद्ध बनेका छन् । आइतबार बसेको पार्टी सचिवालयको बैठकले प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्न र प्रदेशको नाम बागमती राख्‍न निर्देशन दिएको थियो ।
प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले धमाधम केन्द्रले निर्णय गर्दै जाने हो भने के को संघीयता ? भन्दै आक्रोश पोखेका छन् ।

“आइतबारको सचिवालय बैठकले जे निर्णय गर्‍यो त्यो ठीक भएन । यो संघीयताको मर्म विपरीत छ । पहिलो प्रदेशको राजधानी तोक्ने, नामाकरण गर्ने प्रदेशसभाको काम हो । त्यसको आफ्नै विधि, पद्धति छ । जे पनि पार्टीको निर्देशनमा हुँदैन । पार्टीको निर्देशन सम्बन्धित पार्टी कमिटीमा लागु हुन्छ । प्रदेशसभा लागु हुँदैन,” उनले भने ।
उनले पार्टीले निर्देशन नै दिने भए प्रदेश कमिटीलाई दिन सक्ने बताउँदै संघीयताको मर्म विपरीत निर्णय नगर्न आग्रह पनि गरे ।
“भटाभट केन्द्रले निर्णय गर्ने हो भने किन चाहियो संघीयता ? किन चाहियो तलका कमिटी ?,” उनको प्रश्न छ ।
उनले सचिवालयले सबै निर्णय गर्ने अधिकार आफ्नो मुट्ठीमा राखेको भन्दै आपत्ति प्रकट गरे ।अर्का प्रदेशसभा सदस्य रत्न ढकालले पनि प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने क्षेत्राधिकार पार्टीको नभएको बताए ।
“प्रदेशको राजधानी, नाम पार्टीले निर्णय गरेर हुँदैन । संविधान अनुसार हुन्छ । प्रदेशसभाको दुई तिहाइले नाम र राजधानी तोक्ने हो,” उनले बाह्रखरीसँग भने । उनले प्रदेशको राजधानी र नामकरणका विषयमा पार्टीले ह्विप पनि लगाउन नपाउने बताए ।
“ह्विप लाग्ने ठाउँ पनि होलान् । यसमा पार्टीले निर्देशन होइन, ह्विप पनि लगाउन पाउँदैन,” उनको जिकिर छ । उनले संविधान, विधि, पद्धतिभन्दा बाहिर गएर पार्टीले निर्णय गर्न र निर्देशन दिन नपाउने भन्दै नेतृत्वको ध्यानाकर्षण पनि गराए ।

No comments:

Post a Comment