नेपाली पासपोर्ट सबैभन्दा खराब सूचीमा ! - DoroNepal

Breaking

Monday, December 30, 2019

नेपाली पासपोर्ट सबैभन्दा खराब सूचीमा !

नेपाली पासपोर्ट सबैभन्दा खराब सूचीमा !
काठमाडौं । सन् २०१९ बिदा हुने अवस्थामा छ । अघिल्ला वर्षहरुमा जस्तै बिदा हुन लागेको वर्ष पनि नेपालको पासपोर्ट विश्वकै खराब मध्येको सूचीमा पारिएको छ । आखिर किन यस्तो भइरहेको छ ? 
नेपाली पासपोर्टमा विदेश यात्रा गर्दा हरेकजसो विमानस्थलमा दुःख दिने वा शंकाको रुपमा हेर्ने गरिएको देख्ने भोग्नेका लागि विश्वस्तरमा निस्कने सूचकांकले खासै आश्चर्यमा पार्ने गरेको छैन ।
किन यस्तो भइरहेको छ ?
पासपोर्ट विभागका महानिर्देशक रामकाजी खड्का नेपाललाई तल देखाइएको नेपाली पासपोर्टको कागजमा वा छपाइमा कमजोरी भएर नभएको बताउँछन् । 
उनको प्रतिक्रिया छ–‘‘कतिपय देशको गुणस्तर जस्तो नहुन पनि सक्छ तर कमजोर पनि छैन । अहिले सार्वजनिक भइरहेका पासपोर्टको इन्डेक्स कुनै मुलुकलाई अरु कति देशले अनएराइभल भिसा दिइरहेका छन् त्यसको आधारमा माथि वा तल पार्ने गरिएको छ । हामीले सरकारी वा कूटनीतिक कर्मचारीलाई अन एराइभल भिसाको व्यवस्था गरेका छौं । नेपालीलाई ३८ मुलुकमा अनएराइभल भिसा दिइन्छ । अरु देशको पासपोर्टलाई हाम्रोमा भन्दा धेरैमा अनएराइभल भिसा दिइन्छ ।  यो भनेको अरुले हाम्रो  देशको समग्र अर्थतन्त्रको हिसाब गरेर  गर्ने व्यवहार हो । अन्तर्राष्ट्रिय इन्डेक्सले देखाउने कुरापनि यही हो । जब हामीले अर्थतन्त्र बलियो बनाउन सक्दैनौं त्यतिन्जेल सम्म हाम्रो पासपोर्ट जतिसुकै राम्रो भएपनि यस्तै भइरहन्छ ।’’ 
सबैभन्दा खराब पासपोर्ट
लन्डनमा रहेको हेन्ली एन्ड पासपोर्ट कम्पनीले करिब डेढ दशकदेखि पासपोर्टबारेको यस्तो सूची निकाल्दै आएको छ । सन् २०१९ को इन्डेक्समा नेपालको पासपोर्टलाई विश्वका सबैभन्दा खराब पासपोर्टको सूचीमा राखिएको छ । 
जसमा १०० नम्बरमा लेबनान र उत्तर कोरिया राखिएका छन् भने नेपाल खराब पासपोर्टमध्येको दोस्रो नम्बर सूची अर्थात् १०१ मा राखिएको छ । 
लेबनान र उत्तर कोरियाका नागरिकलाई ३९ देशमा अनएराइभल भिसा दिने र नेपालीलाई ३८ देशले भिसा दिने उल्लेख गरिएको छ । 
त्यसभन्दा पनि खराब सूचीमा लिबिया र प्यालेस्टाइन भूभाग र सुडानलाई १०२ नम्बरमा ३७ देशले अनएराइभल भिसा दिने मुलुक र १०३ नम्बरमा यमन जसलाई ३३ मुलुकले त्यस्तो भिसा दिने मुलुकको रुपमा राखिएको छ ।
त्यसपछि १०४ मा सोमालिया र पाकिस्तानलाई ३१, १०५ मा सिरिया जसलाई २९ देशले अनएराइभल भिसा दिन्छन् भने १०६ मा इराक जसलाई २७ देशले अनएराइभल भिसा दिने गरेको पाइएको छ । र, सबै भन्दा तल १०६ नम्बरमा अफगानिस्तानलाई २७ देशले भिसा दिने सूचीमा राखिएको छ ।

सबैभन्दा राम्रो पासपोर्ट कस्को ?
हेन्ली एन्ड पासपोर्टको इन्डेक्समा सबैभन्दा राम्रो पासपोर्टका भएका  टप टेन मुलुक र उनीहरुलाई अनएराइभल भिसा दिइने संख्या तल दिइएअनुसार रहेको छः
१. जापान, सिंगापुर (१९० मुलुकको अनएराइभल भिसा)
२. फिनल्याण्ड, जर्मनी, दक्षिण कोरिया (१८८ मुलुकको अनएराइभल भिसा)
३. डेनमार्क, इटाली, लक्जेम्बर्ग (१८७ मुलुकको अनएराइभल भिसा )
४. फ्रान्स, स्पेन, स्वीडेन (१८५ मुलुकको अनएराइभल भिसा )
५. अष्ट्रिया, नेदरल्यान्डस, पोर्चुगल (१८५ मुलुकको अनएराइभल भिसा  )
६. बेल्जियम, क्यानडा, ग्रीस, आयरल्यान्ड, नर्वे, बेलायत, अमेरिका, स्वीजरल्यान्ड (१८४ मुलुकको अनएराइभल भिसा )
७. माल्टा, चेक रिपब्लिक (१८३ मुलुकको अनएराइभल भिसा)
८. न्यूजील्यान्ड (१८२ मुलुकको अनएराइभल भिसा)
९. अष्ट्रेलिया, लिथुआनिया, स्लोकाभिकया (१८० मुलुकको अनएराइभल भिसा)
१०. हंगेरी, आइसल्यान्ड, लात्भिया, स्लोभेनिया (१८० मुलुकको अनएराइभल भिसा)
हेन्ली एन्ड पासपोर्टले आफ्नो इन्डेक्स बनाउँदा १९९ पासपोर्ट र २२७ ट्राभल डेस्टिनेसनको डेटाबेसको आधारमा बनाइएको जनाएको छ । 
नेपालजस्ता मुलुकलाई पासपोर्टका हिसाबले माथिल्लो स्थानमा पुग्नका लागि अर्थतन्त्रको विकास नै मुख्य माध्यम हुने पासपोर्ट विभागका महानिर्देशक खड्का बताउँछन् ।
नेपालीलाई अन एराइभल भिसा क—कसले दिन्छन् ? 
नेपाली नागरिकलाई अनएराइभल भिसा दिने मुलुक ३८ वटा रहेका छन् । जसको सूची र अवधि निम्न अनुसार रहेको छः
१. बंगलादेश (९० दिनका लागि)
२. भारत ( असीमित)
३. क्याम्बोडिया (३० दिन)
४. माल्दीभ्स ( ३० दिन)
५. म्यान्मार (२८ दिन)
६. पाकिस्तान (३० दिन)
७. फिलिपिन्स (२१ दिन)
८. श्रीलंका (३० दिन)
९.सिरिया (१५ दिन)
१०. सिंगापुर (३० दिन)
११. टिमोर लेत्से (३० दिन)
१२. बुरुण्डी ( ३० दिन)
१३. केप भर्दे (अनएराइभल)
१४. कोमोरस (अनएराइभल)
१५. डिजीबुटी (३० दिन)
१६. इजिप्ट (३० दिन)
१७. केन्या (३० दिन)
१८. मडागास्कर (९० दिन)
१९. माउरिसानिया (३० दिन)
२०. मोरिसस (६० दिन)
२१. मोजाम्बिक (३० दिन)
२२. रुवाण्डा (अनएराइभल)
२३. सेसेल्स (३० दिन)
२४. तान्जानिया ( ९० दिन)
२५. टोगो (७ दिन)
२६. युगाण्डा (९० दिन)
२७. जाम्बिया (९० दिन)
२८. आर्मेनिया (१२० दिन)
२९. डोमिनिका (२१ दिन)
३०. हैटी (९० दिन)
३१. बोलिभिया (९० दिन)
३२. सेन्ट भिन्सेन्ट एण्ड द ग्रिनेडिन्स (३० दिन)
३३. कुक आइल्याण्ड (३१ दिन)
३४. फेडेरेटेड स्टेट अफ माइक्रोनेसिया (३० दिन)
३५. निउइ (३० दिन)
३६. पलाउ (३० दिन)
३७. समोआ (६० दिन)
३८. टुभालु (३० दिन)

No comments:

Post a Comment