अष्ट्रेलियाको दोस्रो जित, वेष्ट इन्डिज १५ रनले पराजित - DoroNepal

Breaking

Friday, June 7, 2019

अष्ट्रेलियाको दोस्रो जित, वेष्ट इन्डिज १५ रनले पराजित

अष्ट्रेलियाको दोस्रो जित, वेष्ट इन्डिज १५ रनले पराजित 
एजेन्सी । वेष्ट इन्डिजमाथि १५ रनको नतिजा निकाल्दै अष्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ । 
नेथन कुल्टर नाइलको उत्कृष्ट ब्याटिङ र प्याट कुमिन्सको घातक बलिङमा वेष्ट इन्डिजमाथि १५ रनको नतिजा निकाल्दै अष्ट्रेलियाले दोस्रो जित दर्ता गरेको हो । २ सय ८९ रनको लक्ष्य पच्छाएको वेष्ट इन्डिज निर्धारित ५० ओेभरमा ९ विकेटको क्षतिमा २ सय ७३ रनमा आउट भएपछि अष्ट्रेलिया जित निकाल्न सफल भयो ।
ट्रेन्ट बिज्रमा वेष्ट इन्डिजका लागि साइ होप र कप्तान होल्डरले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । १ सय पाँच बल खेलेका होपले ७ चौकाको मदतमा ६८ रन बनाएका थिए । कप्तान होल्डरले ५१ रन जोडे ।  होप प्याट कुमिन्सको बलमा उसमान ख्वाजामार्फत क्याच हुँदा होल्डर मिचेल स्टार्कबलमा एडम जाम्पाको सिकार भए। 
निकोलस पुरन ४० रनमा पवेलियन फर्किदाँ शिम्रोन हेट्मायर र क्रिस गेल २१–२१ रनमा आउट भए । निकोलस जाम्पाको बलमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चमार्फच क्याच हुँदा हेट्मायर रनआउट र गेल एलबिडब्लु धरापमा परेका थिए । कार्लोस ब्राथवेटले १६ रनको योगदान दिदाँ आन्द्रेस रसेलले १५ रन बनाए । 
अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । प्याट कुमिन्सले २ विकेट लिदाँ जाम्पाको नामा १ विकेट रह्यो । 
यसअघि पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले नेथन कुल्टर नाइलको उत्कृष्ट प्रदर्शनमा वेष्ट इन्डिजलाई २ सय ८९ रनको लक्ष्य दिएको थियो । ४९ ओभरमा २ सय ८८ रनमा अलआउट भएको अष्ट्रेलियाका लागि नेथनले ६० बलमा ८ चौका र ४ छक्काको मद्दतमा ९२ रन बनाएका थिए । शतक बनाउन ८ रनले चुकेका उनी कार्लोस ब्राथवेटको बलमा होल्डरमार्फत क्याच भएका थिए ।
स्टेभन स्मिथले ७३ रनको योगदान दिए । १ सय ३ बल खेलका स्मिथले ७ चौका प्रहार गरे । अष्ट्रेलियालाई फराकिलो रनतर्फ र्डोयाएका स्मिथ आरोन थोमसको बलमा कोट्रेलमार्फत क्याच भए । ५५ बलको सामना गरेका एलेक्स केरीले सात चौकाको मद्दतमा ४५ रन बनाउदाँ स्मिथसँग साझेदारी गरेका केरी,आन्द्रे रसेलको बलमा होपमार्फत् क्याच भएका थिए । 
मार्कुस स्टोनिस १९ रनमा पवेलियन फर्किँदा उसमान ख्वाजा १३ रनमा रसेलको बलमा होपमार्फत् क्याच भए । ग्लेन म्याक्सवेल खाता नै नखोली कोट्रेलको बलमा क्याच हुँदा स्टोनिस क्याचआउट नै हुन पुगेका थिए । प्याट कुमिन्स २ तथा मिचेल स्टार्कले ८ रन जोडे ।
ओपनर डेबिड वार्नर ३ रनमा आउट हुँदा कप्तान आरोन फिन्च ६ रनमा पबेलियन फर्किएका थिए । सेल्डन कोट्रेलको बलमा हेट्मायरमार्फत् वार्नर क्याचको शिकार हुँदा कप्तान आरोन थोमसको बलमा होपमार्फत् क्याच भए । 
वेष्ट इन्डिजका लागि कार्लोस ब्राथवेटले ३ विकेट लिदाँ आन्द्रे रसेल, आरोन थोमस र शेल्डन कोट्रेलले २–२ तथा होल्डरको नाममा १ विकेट रह्यो । अष्ट्रेलियाले यसअघि पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । दोस्रो जितसँगै पाँच पटकको च्याम्पीयन अष्ट्रेलियाले उपाधि होडलाई बलियो बनाएको छ । अष्ट्रेलियाले अब तेस्रो खेल भारतसँग खेल्नेछ । 

No comments:

Post a Comment