भारतमा ६० लाखलाई प्रभावित पार्ने चक्रवात वायु आउँदै, नेपालमा पनि असर पर्नसक्ने - DoroNepal

Breaking

Wednesday, June 12, 2019

भारतमा ६० लाखलाई प्रभावित पार्ने चक्रवात वायु आउँदै, नेपालमा पनि असर पर्नसक्ने

भारतमा ६० लाखलाई प्रभावित पार्ने चक्रवात वायु आउँदै, नेपालमा पनि असर पर्नसक्ने
काठमाडौं । भारतको उत्तरपूर्वी क्षेत्र गुजरातमा भोलि (बिहीबार) चक्रवात ‘वायु’ आउने पूर्वानुमानले आतंक मच्चिएको छ । त्यसले नेपालमा पनि असर गर्नसक्ने मौसमविद्ले बताएका छन् । 
मौसमविद् गंगा नगरकोटीले हामिसँगको कुराकानीमा भनिन्, ‘‘चक्रवात वायु नै नेपाल आइपुग्ने सम्भावना छैन । तर, वर्षा भने हुन सक्छ । त्यसको असरले आउने जलवाष्प र वर्षा अपरान्हतिर हुन सक्छ ।’’
आज बिहान भारतको उत्तराखण्ड हुँदै आएको पश्चिमा वायु भने फरक भएको मौसमविद् नगरकोटीले बताइन् । सो वायुको असर आज बिहान नेपालको सुदूरपश्चिम क्षेत्रमा देखिएको थियो । 
सीएनएनका अनुसार आगामी २४ घण्टाभित्रै आउने चक्रवात वायुबाट भारतको गुजरातमा करिब ६० लाख मानिस प्रभावित हुने भारतीय अधिकारीहरुले बताएका छन् । करिब ३ लाख मानिसलाई विभिन्न ७ सयवटा सेल्टरमा सार्न लागिएको भारतको गृह मन्त्रालयका प्रवक्ताले बुधबार बताएका छन् । प्रभावित क्षेत्रका  विद्यालय र कलेजहरु शुक्रबारसम्मका लागि बन्द गरिएका छन् । 
१२० किमी प्रतिघण्टाको दरले आउने अनुमान गरिएको यो वायु विगत एक दशककै उत्तर पश्चिम भारतमा आएको सबैभन्दा ठूलो धक्का हुने जनाइएको छ । उत्तरपूर्वी भागमा एक महिनाअघि फानी आँधीले आतंक मच्चाएको थियो । बुधबार चक्रवात वायु मुम्बईको २०० किमी पश्चिममा आइपुगेको बताइएको छ । उक्त चक्रवात भोलि विहीबार गुजरातमा पुग्नेछ । ३९ जनाको नेशनल डिजास्टर रेस्पोन्स फोर्स टिमलाई सम्भावित प्रभावित क्षेत्रमा पठाइएको छ । सेनाको ३४ टोली पनि तैनाथ राखिएको जनाइएको छ ।
सो चक्रवात वायु सोमबार बनेको र मंगलबार शक्तिशाली भएको हो । सो वायु अरेबिया समुन्द्रबाट आएको हो । भारतको गुजरातमा गएको २० वर्ष यता यसखालको शक्तिशाली वायु नआएको जनाइएको छ । मछुवारहरुलाई भोलि काममा नजान भारतमा निर्देशन दिइएको छ । वायुका अतिरिक्त २०० मिलिमिटर क्षेत्रमा वर्षा पनि हुन सक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् ।
सो क्षेत्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृह क्षेत्र पनि हो । भारतका गृहमन्त्रीले भोलिको अवस्थाको आकलन गर्न विशेष बैठक समेत डाकेको भारतीय सञ्चार माध्यमले बताएका छन् । 

No comments:

Post a Comment