कोशीमा स्टिमर चलेपछि कतिको मस्तिष्कमा झट्का लाग्या छ : प्रधानमन्त्री ओली - DoroNepal

Breaking

Sunday, April 28, 2019

कोशीमा स्टिमर चलेपछि कतिको मस्तिष्कमा झट्का लाग्या छ : प्रधानमन्त्री ओली

Related image
प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीमा जलविहार (स्टिमर) चल्न थालेपछि कतिपय मानिसको मस्तिष्कमा झट्का लागेको बताएका छन्।
आइतबार राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले आफ्ना आलोचकलाई यस्तो कटाक्ष गरेका हुन्।
'कोशीमा  जलविहार चल्न थालेपछि कतिपय मानिसको मस्तिष्कमा झट्का लागेको छ,' उनले भने।
सुनसरी चतराघाट देखि धनकुटाको त्रिवेणी रानीटारसम्म स्टिमर चल्छ। धेरैसमय देखि बन्द रहेको स्टिमर पोहोरसाल देखि एक निजि कम्पनीले चलाउँदै आएको छ।
प्रधानमन्त्री ओलीले चुनढुङ्गा उत्खनन गरेर सिमेण्टमा आत्मनिर्भर भई भारत र बङ्गलादेशमा निर्यात गर्न सकिने जुक्ति पनि उक्त बैठकमा सुनाए।  
निरपेक्ष गरिबीको प्रतिशत घटाउन सरकारले ठूला आकाङ्क्षा र महत्वाकाङ्क्षाका साथ उथलपुथलकारी काम गरिरहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ।
बैठकमा उनले खान, बस्न नपाएर कुनै नागरिक अब नागरिक मगन्ते बन्दै सडकमा हिँड्नु नपर्ने दाबी गरेका छन्।
गरिब र अशक्तलाई खान र बस्नका लागि सरकारले जिम्मा लिने प्रधानमन्त्रि ओलीले बताए।
पन्ध्रौं योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने उनको जिकिर छ।
'हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेका छौँ। त्यसैले अब कोही पनि भोका रहनेछैनन्,' आयोगका अध्यक्ष ओलीले  भने, 'केही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस्। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ।'
उनले मानिसलाई मर्ने स्वतन्त्रता नभएको बताए।
'हामी फरक ढङ्गले सामाजिक प्रबन्ध गरिरहेका छौँ। समाज स्वतन्त्र छ तर यहाँ मर्ने स्वतन्त्रता छैन। अब हामी दोहोरो अङ्कमा आर्थिक वृद्धिदर गराउनेछौं,' उनले भने।  
प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा निकै सुधार आएको र जमीन बाँझो राख्ने परम्परा अन्त्य हुन थालेको ओलीको दाबी छ। संरचना र कानूनी आधार तयार भए पनि नयाँ प्रणाली भएकाले सङ्घीयता कार्यान्वयनमा जाँदा गतिशील भएर अगाडि जान केही समस्या देखिएको उनले स्वीकार गरे। (रासस)

No comments:

Post a Comment